Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजनीतिक भुकम्प ल्याउने भ्रमण : एक हजार बढीसँग भलाकुसारी गरेर फर्किइन पूर्वराष्ट्रपति भण्डारी



विराटनगर । माघ १४ गते दिउँसो विराटनगर उत्रिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिधै विग होटल पुगिन् । २० माघसम्म उनको बसाई बिग होटलमा रह्यो । यो ७ दिनमा उनले १ हजार जना बढीसँग अनौपचारिक रुपमा भेट गरिन् ।

भण्डारी राष्ट्रपति बनेपछि उनको विराटनगर बसाई यति लामो कहिल्यै भएको थिएन । पूर्वराष्ट्रपति भएपछि उनले अध्ययन गरेको र भूमिगत कालमा आश्रय लिएको थलो विराटगरको यो बसाईले राजनीतिक वृत्तमा भुकम्प ल्याउने गरिकै रहेको छ । यो बिचमा मोरङ र सुनसरीमा गरी १८ वटा औपचारिक कार्यक्रममा सहभागी हुने योजना थियो ।

तर केही कार्यक्रममा भने उनी पुग्न सकिनन् । केही कार्यक्रमको लागि निर्धारण गरिएको कार्यक्रमलाई समेत छुटाएर उनले लगातार अनौपचारिक भेटघाट भने गरिरहिन् । बिग होटलको कोठा नम्बर २१४ मा बसेर उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका कोशी प्रदेशका नेताहरुसँग भलाकुसारीमा समय बिताइन् ।

पूर्वराष्ट्रपति भण्डारीको निकट श्रोतका अनुसार उनले भेटघाट गरेका मध्ये अधिकाँश ओलीबाट पेलानमा परेका नेताहरु छन् । भेटघाटमा पुगेका केही भने नेकपा एसका नेताहरु समेत रहेका छन् । कतिपयले उनलाई भेट्ने इच्छा राखेर पुगेका थिए भने कतिपयले भण्डारीले नै भेट्ने इच्छा देखाएपछि भेटघाटको चाँजोपाजो मिलाइएको थियो ।

फर्किने अघिल्लो दिन भण्डारी नेकपा एसका नेता महेश रेग्मी र सभामुख देवराज घिमिरेसँग गरेको भेटघाटलाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । कतिपयले सभामुख घिमिरे ओलीको सन्देश बोकेर आएको रुपमा समेत ब्याख्या गरिरहेका छन् । केही काँग्रेसका नेताहरुसँग पनि उनले भेटघाट गरिन् ।

भेटघाटको चाजोपाँजो मिलाउने जिम्मा प्रत्यक्ष रुपमा भने नेकपा एमाले मोरङका उपसचिव सोमराज थापाले मिलाउने गरेका थिए । उनीसँग पत्रकार, युवा वैज्ञानिकदेखि विभिन्न संघसंस्थाका प्रतिनिधिले औपचारिक र अनौपचारिक रुपमा भेट गरे ।

आएकै दिन अनेमसंघका स्थानीय नेताहरुसँगको भेटघाटबाट उनले कुराकनी सुरु गर्दै फर्किन प्लेन चढ्नु अघि स्काउटका विद्यार्थीहरुसँगको भेटघाट धेरै हिसाबमा अर्थपूर्ण छन् ।

उनी निस्किनसाथ सुनसान बनेको बिग होटल ७ दिन भने कहिल्यै खाली हुन पाएन् । घण्टौँसम्म पर्खिएर उनका लामबद्ध रहेकाहरु जो कोहीसँग पनि उनले सुझाव माग्ने र गुनासो सुन्ने गरिरइन । आएकै दिन पत्राकारहरुसँगको छलफलमा उनले आफु राष्ट्रिय राजनीतिबाट टाढा नरहेको प्रतिकृया दिएर एमालेमा फर्किने हल्लालाई बल पुग्ने गरीको संकेत गरेकी थिइन् ।

बिग होटलमै भेट्न पुगेका बुद्धिजीविहरुसँग गएको बुधबार पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सक्रियता देखेर काठमाडौँमा भुइँचालो गएको टिप्पणी गरिन् । तर उनले यो भनाईलाई सुधार्दै आफ्नो अभियान समाज परिवर्तनको लागि रहेको प्रष्ट्याइन् । काठमाडौंमा गएको भुइँचालोले आफ्नो राजनीति, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा युवा रोजगारीको विषयलाई सुधार गर्ने अभियानलाई केही फरक नपार्ने बताइन् ।

नेकपा एमालेमै हुर्किएर बढेर पार्टी उपाध्यक्ष हुँदै देशकै सर्वोच्च पदमा पुगेको भन्दै फेरी फर्किए नेकपा एमालेमै फर्किने पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन् तर दलीय राजनीतिमा फर्किने कि नफर्किने भन्ने अहिले नै नसोचेको समेत प्रस्ट्याएकी थिइन् । हरेक भेटघाटमा राजनीति भन्दा टाढा नरहेको भन्ने सन्देश दिँदै उनले पार्टी राजनीतिमा नै आइहाल्ने वा नआउने भन्ने अहिले नै हतार गर्ने बेला नभएको भन्दै आगामी महाधिवेशनको तयारीमा रहेको सन्देश भने स्पष्ट रुपमा दिएको विराटनगरका एक नेताले बताए ।

ती नेताले भने – ‘उहाँले हजार जना बढीसँग अनौपचारिक छलफल गर्नुभयो । उहाँसँगको भेटघाट गर्नेहरु सबै बा९प्रधानमन्त्री ओली०सँग असन्तुष्टहरु नै छन् । उहाँले विराटनगर बस्दा प्राय सबैको सुझाव लिनु भयो । आफ्ना कुरा राख्नुभएन । तर भेटघाट र उहाँको हाउभाउ हेर्दा भने विद्या दिदी अध्यक्षको लागि आफूलाई तयार गर्दै हुनुहुन्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार