विराटनगर । विराटनगर २ मा रहेको सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा मोरङको कटहरी ७ मा आँखा शिविरको आयोजना गरेको छ ।
संस्था स्थापनाको २८ वर्ष पुरा भई २९ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा मोरङको कटहरी गाउँपालिका ७ डंगटोलीमा रहेको राधाकृष्ण आधारभुत विध्यालयमा एक दिने आँखा जाँच शिविरको आयोजना गरेको हो । विराटनगर आँखा अस्पताल रानी विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ३३४ जनाले आँखाको जाँच गराएका थिए । शिविरमा १ सय २३ जना मोतियाविन्दुका रोगी फेला परेका छन् ।
यस्तै अन्य आँखा रोगका कारण ११ जना शल्यक्रिया गर्नु पर्ने गरीका रोगी भेटिएका थिए । उनीहरुलाई विराटनगर आँखा अस्पतालवाट निःशुल्क शल्यक्रियाका लागि लगिएको र आँखा जाचका लागि आएका बिरामीहरुलाई निःशुल्क औषधि, सहुलियतमा चस्मा र प्राविधिक सल्लाह उपलब्ध गराइएको सहकारी संस्थाका लेखापाल प्रकाश सापकोटाले बताए ।
यसै गरी स्थापना दिवसकै अवसरमा संस्थाको तर्फवाट ७ थान सिलिङ पंखा राधाकृष्ण आधारभुत विध्यालयलाई सहयोग गरिएको संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईले बताए । कार्यक्रममा बोल्दै श्रृष्टि सहकारीका व्यवस्थापक नारायण प्रसाद ढकालले ढुक्कका साथ आर्थिक कारोबार गर्न आग्रह गरे । उनले सृष्टि सहकारीको हरहिसाब पारदर्शी रहेको बताए ।