विराटनगर । सबै धर्म, संस्कृति मान्ने समुदायबीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् । आज तामाङ समुदायको चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ (नयाँ वर्ष) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले आपसी एकता बढाउने बताए ।
मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा नेपाल बहुभाषी, बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले विभिन्न समुदायका चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गरेका छन् । नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अंगीकार गरेकै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा संवर्द्धन गर्नका लागि हो उनले भनेका छन् ।
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गर्न निरन्तर लागिरहेको मुख्यमन्त्री कार्कीले बताए । उनले विविधतायुक्त कोशी प्रदेशमा सबै समुदायले एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै सुखी र समुन्नत प्रदेश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सम्पूर्ण समुदायबीच सहकार्य, एकता र आपसी सद्भाव आवश्यक रहेको बताउँदै नेपालको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव तथा भातृत्वको भावना बढाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।