विराटनगर । कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षहरूसँगको विवाद समाधानका लागि वार्ता प्रक्रिया अघि बढाउने उद्देश्यले औपचारिक आह्वान गरेको छ। प्रदेश सरकारले गठित वार्ता समितिले बैठक बसेर यो निर्णय गरेको हो।
अर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको समितिको बैठकले असन्तुष्ट पक्षहरूसँग संवादको माध्यमबाट समस्याको समाधान खोज्न औपचारिक आह्वान गर्ने निर्णय गरेको हो।
पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाप्रति असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता सरकारको रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए।
प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो।
आजको बैठकमा समितिले विवादलाई संवादको माध्यमबाट टुंग्याउन दुवै पक्षलाई आह्वान गर्दै वार्तामा सहभागी हुन आग्रह गरेको छ। सरकारको यो प्रयासले पाथिभरा केवलकार परियोजनाका विषयमा उठेका असन्तोषलाई समाधान गर्ने अपेक्षा गरिएको छ।
