विराटनगर । भरेष्ट स्पोर्ट्स वीक (एभरेष्ट खेलकुद सप्ताह) –२०८१ को विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको बताएका छन्।
उनले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको भएका कारण अधिकांश अभिभावक र विद्यार्थीको रोजाई बनेको बताए । मेयर कोइरालाले आफ्नो बाल्यकाल सम्झिँदै गुणस्तरीय शिक्षाका लागि आफूले बाहिर जानु परेको भएपनि अहिले विश्वस्तरको शिक्षा एभरेष्ट स्कुलले प्रदान गरेको बताउनुभयो ।
एभरेष्ट स्पोर्ट्स वीक (एभरेष्ट खेलकुद सप्ताह) –२०८१को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र देख्न नहुने भन्दै बालबालिकाको इच्छा र क्षमता अनुसार नै अघि बढ्न दिनुपर्ने बताए ।
बालबालिकाका अनेक क्षेत्रका रुचि हुने भन्दै उनले ति सबै रुचिलाई सार्थक बनाउन एभरेष्ट स्कुलले वातावरण तयार गरेको समेत बताए ।
मेयर कोइरालाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि एभरेष्टले भूमिका खेलिरहेको चर्चा गर्दै सबै विद्यालयले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले विराटनगर महानगरपालिकाले समेत महानगरका सबै सामुदायिक विद्यालयमा हरेक शुक्रबार हास्दै–खेल्दै पढ्ने अभियान चलाएको बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालय स्थापनाको ३१ औं वर्ष पूरा भएको भन्दै सम्पूर्ण अभिभावक तथा सरोकारवालाको विश्वासले एभरेष्ट स्कुलले देशकै उत्कृष्ट विद्यालयहरु मध्ये एक हुन सकेको बताए ।
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा विराटनगर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताए । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको उनको भनाइ छ । शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको प्रिन्सिपल पुरीले बताए ।
उनले पटक–पटक सरकारबाट राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेर र विभिन्न संघ संस्थाहरुबाट दर्जनौं सम्मान प्राप्त गरेर आफ्नो उत्कृष्टता प्रमाणित गरेको बताए । विद्यालयले अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुदका विभिन्न क्षेत्रहरूका प्रशिक्षकबाट नियमित प्रशिक्षण गराउँदै आएको एभरेष्टले खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु बिच स्पर्धा गराउँदैछ ।
करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिनेछन् । खेलकुद सप्ताहको उद्घाटनका दिन विद्यार्थीहरुले विभिन्न खेल कौशलहरु प्रस्तुत गरे भने संगीत र नृत्य प्रस्तुत गरेर अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाए । स्काउटको मार्च पास, तेक्वान्दो र कराँतेका विभिन्न कौसलले उपस्थित सबैको ध्यान आकृष्ट गरायो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर गुरागाईं, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौला, प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठ उपस्थिति रहेको थियो ।