विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको पद बहाली तथा कार्यालय स्थापना गरिएको छ ।
कोशी प्रदेश सरकारको पुस १८ गतेको मन्त्रिपरिषदको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापनको लागि समिति गठन गर्ने निर्णय गरेको थियो । आज उद्योग कृषि तथा सहकारी मन्त्रालयमा व्यवस्थापन समितिको कार्यालयको उद्घाटन तथा पदाधिकारीले पद बहाली गरे । प्रदेशमा समस्यामा रहेका सहकारीको पहिचान र व्यवस्थापन गर्ने गरी कोसी प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको हो ।
कार्यालय उद्घाटन तथा पद बहाली कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश मातहतको १०७६ सहकारी मध्ये एउटा समस्याग्रस्त घोषणा गरिएको बताए । मन्त्रालयले इटहरीमा रहेको अम्बेकोशी सहकारी संस्थालाई सङ्कटग्रस्त सहकारी घोषणा गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाले प्रदेश सहकारी ऐन २०७६ ले दिएको अधिकारलाई प्रयोग गरी सहकारीका समस्या व्यवस्थापन गरिने बताए । सङ्घीय सरकारले मात्रै समस्या समाधान गर्न नसकेपछि प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर समिति बनाएर जिम्मेवारी दिएकोले दिइएको जिम्मेवारी अनुसार अरू प्रदेश कोलागि समेत दिशानिर्देशको रूपमा कोशी प्रदेशमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले कोसी प्रदेशमा सहकारी समस्या भयावह बन्दै गएकाले समिति गठन गर्नु परेको बताए । अहिले एउटा सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरिएको भए पनि धेरै सहकारीहरू समस्याग्रस्त भएपछि त्यसलाई व्यवस्थापन गर्ने गरी काम थालिएको मन्त्रालयले जनाएको छ।