विराटनगर । संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धि अध्ययन कार्यदलले तयार पारेको प्रतिवदेन अध्ययनका लागि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चार सदस्सीय कार्यदल गठन गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सो प्रतिवेदन अध्ययन गर्न कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा मन्त्रालयका सचिव कमलबहादुर थापा तथा सदस्यहरुमा मन्त्रालयका कानुन उपसचिव डिल्ली आचार्य, मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत राजेन्द्र आचार्य र भौतिक मन्त्रालयका कानुन अधिकृत किशोर खड्का रहेका छन् ।
कोशी प्रदेश सरकारले ऐन तथा कानुनहरु निर्माणलाई प्राथमिकतामा राख्दै बनाउनु पर्ने नयाँ कानुन, संसोधन गर्नु पर्ने र संघीय सरकारले अधिकार हस्तान्तरणका लागि बनाउनु पर्ने कानुनहरुका विषयमा अध्ययन गरेर प्रतिवेदन बनाउनका लागि चुडामणी आचार्यको संयोजकत्वमा गएको बैशाख २७ गते कार्यदल गठन गरेको थियो ।
सो कार्यदलले हिजो मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक पुर्याउने लक्ष्य सहित तीव्र गतिमा काम गरिरहेको मन्त्री भण्डारीले बताउ ।