विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले केही सहकारी संस्थाहरुको कारण देशभरका ३२ हजार सहकारी संस्थाहरु माथि प्रश्न उठ्ने अवस्था आएको बताएका छन् ।
आज सुनसरीको इटहरीमा रहेको लर्डबुद्ध बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको २२ औँ वर्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले १ सय ५० जति सहकारीमा समस्या आउँदा सिंगो सहकारी क्षेत्र नै बदनाम भएको बताए ।
केही सहकारीका सञ्चालकहरुले आत्मकेन्द्रीत र आफूखुसी निर्णय गर्दा त्यस्तो समस्या आएको उनको भनाइ । मन्त्री भण्डारीले भने, ‘सहकारीको रकम आत्मकेन्द्रीत हुँदै आफूखुसी रातारात धनी हुने सपना देखेर खर्च गर्दा नै समस्या भएको छ । यही कारण धेरै मान्छेहरु जेलमा बसिरहेका छन् ।’
उनले रास्वपा सभापति रवि लामिछानेलगायतका केही सहकारी सञ्चालकहरुले यही कारण बचतकर्ताको रकम डुबाएको बताए । सहकारीहरुले बिस्तारै अघि बढ्ने र थोरै मुनाफा लिएर भएपनि दीगो हुने गरी अघि बढ्नु पर्ने समेत उनले सुझाव दिए ।