Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारसँग आफ्ना कुरा राख्न सक्ने नेतृत्वमा जानुपर्छ : टिकाराम पुरी



विराटनगर । प्याब्सनका प्रमुख सल्लाहकार टिकाराम पुरीले आफ्ना कुरा परेका बेला राम्रोसँग राख्नसक्ने ब्यक्ति नेतृत्वमा जानुपर्ने बताएका छन ।

प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले परेका बेला बोल्न र आफ्नो संगठनको कुरा राख्न नसक्ने व्यक्तिबाट नेतृत्व सफल नहुने तर्क गरे । मुलुक संघीयतामा गएपछी तीन तहका सरकार छन् भन्दै उनले तीनै तहका प्याब्सनको नेतृत्व पनि तीन वटै सरकारसँग कुरा राख्न सक्ने र नीति निर्माणमा आफ्नो उपस्थिति खोज्न सक्ने हुनुपर्ने बताए ।

उनले प्याब्सनका सदस्यहरुले झुट बोल्न नहुने तर्क दिँदै जायज कुरा सम्बन्धित ठाउँमा राख्न सक्नुपर्नेमा जोड दिए ।

उनले अहिले सरकार गम्भीर नभएकै कारण यूवाशक्ति पलायनको क्रम तिब्रतर रुपमा भइरहेको भन्दै नेपालमै पढ्दै कमाउने वातावरण तयार भए विद्यार्थी पलायन हुने क्रम रोकिने बताए ।

उनले भने,‘श्रमको सम्मान र मूल्य हुनुपर्छ, पढ्दै कमाउने वातावरण तयार भए यूवा पुस्ताले बाध्यात्मक रुपमा विदेशिने क्रम रोकिन्छ ।’ यता तर्फ सरकारको ध्यान जान नसकेको भन्दै प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरीले देशको विकास र समृद्धिको लागि पनि देशमा शिक्षा अनुसारको पेशा गर्न पाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनले निजी विद्यालयको योगदानको विषयमा नेतृत्वलाई बुझाउन सक्दा अनपेक्षित परिणाम नआउने भन्दै आफ्नो कार्यकालमा भएको विषयमा जानकारी दिनुभयो ।

यस्तै प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी,गोपाल आचार्य, टीआर ढकाललगायतले प्याब्सनले देशको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै त्यसमा पनि मोरङको अहम् भूमिका रहेको चर्चा गरे । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख राम ढुङ्गेलले निजी विद्यालयहरूसँग समन्वय गरेर अघि बढ्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई सम्मान समेत गरिएको छ ।
२१० सदस्य रहेको प्याब्सन मोरङमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन भैरहेको छ । ७ पदाधिकारी सहित ३१ सदस्यीय कार्यसमिती चयनका लागि जगत बस्नेत र सुरेन्द्र सुवेदीको नेतृत्वमा दुई प्यानल चुनावी प्रतिष्पर्धामा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार