विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्ने र त्यसको काम कर्तव्य तथा अधिकार टुंग्याउने गरी निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकपछि निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितका १० वटा निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रुपमा पेश गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालय मन्त्रालयबाट प्राप्त भएको गठन आदेश पाथिभारा क्षेत्र विकास समिति, वृहत बराह क्षेत्र विकास समिति, हलेसी महादेव स्थान विकास समिति गठन आदेश पहिलो संसोधन आदेश २०८१ लाई स्वीकृत, यस्तै कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा व्याज अनुदान सम्बन्धि कार्यविधिलाई स्वीकृत गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए ।