Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामुदायिक विद्यालयको शिक्षाले पनि सम्वृद्धि सम्भव छ : मुख्यमन्त्री कार्की



विराटनगर । सार्वजनिक विद्यालयको शिक्षाले पनि प्रदेश र मुलुकको सम्वृद्धि सम्भव रहेको बताउनुभएको छ । यसको नमूनाको रुपमा मोरङको सुन्दर हरैचामा रहेको सुकुना माध्यमिक विद्यालय रहेको बताउनुभयो ।

सुकुना माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै विद्यालयको शिक्षा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कोभिड महामारी पछि मुलुकको आर्थिक अवस्था ओरालो लागिरहेको भन्दै उहाँले सोचेजस्तो काम गर्न भने नसकिएको बताउनुभयो ।

उहाँले यो आर्थिक वर्षबाट आर्थिक अवस्थामा केही सुधार भएको भन्दै आगामी आर्थिक वर्षबाट विद्यालयका लागि थप कार्यक्रम ल्याइने बताउनुभयो । विद्यार्थीहरुलाई सहि सीप र ज्ञान दिन सके आगामी ५०/६० वर्षसम्म समाज र राष्ट्रलाई टेवा पुग्ने बताउनुभयो । विद्यार्थीहरु सक्षम, सीपयुक्त र अनुशासित भए देशको सम्वृद्धि अवश्य हुने उहाँको भनाइ छ ।

सुन्दर हरैँचाका मेयर केदार गुरागाईले विद्यालयमा संघीय सरकारको खाजा कार्यक्रममा दिइएको रकम कम भएको भन्दै प्रदेश सरकारले थप गर्नु पर्ने माग गर्नुभयो ।

उहाँले प्रदेश भित्रका ठुला विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम भएको भन्दै यसमा पनि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदी, कोशी प्रदेशका पूर्वमन्त्री राजकुमार ओझालगायतकाको सहभागिता रहेको थियो । सो विद्यालयमा ४३ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार