विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकामा आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
पालिकामा आज शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । आजकै मितिबाट एम्बूलेन्स सेवा पूर्ण रुपमा उपलब्ध गराउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए ।
माझीलाई बुधबार नै मोरङका जिल्ला न्यायाधीश उद्धव भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । शपथग्रहण कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बा लगायतको उपस्थिति थियो ।
शपथग्रहण पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकांक्षा अनुरुप आफू अगाडि बढ्ने बताए । उनले जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिन वा आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन आफूले जनतासँगै काम गर्ने प्रतिबद्धता पनि जनाए ।