विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बेलुकी ५ बजेसम्म मतदान हुने छ । मोरङको ग्रामथान गाउँपालिकामा पनि अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । अधिकांश मतदान केन्द्रमा मतदान गर्न निक्कै कम मात्रामा मतदाता पुगेका छन् ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मतदानका लागि सबै तयारी पूरा भइसकेको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।
ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आज उपनिर्वाचन हुँदैछ ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्ष बन्ने होडमा उम्मेदवार बनेका छन् ।