विराटनगर । भोलि हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा सबै किसिमका सबारी साधन आवतजावतमा रोक लगाइएको छ । आज राति १२ बजेबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले ग्रामथानमा अत्यावश्यक बाहेकका सबै सबारी साधन आवागमनमा रोक लगाएको हो ।
ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बनाउन जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज राति १२ बजेबाट भोलि निर्वाचनसम्पन्न नभएसम्मका लागि ग्रामथानका सबै क्षेत्रमा अत्यावश्यक र पास लिएका बाहेकका सबै सवारी साधनलाई रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मोरङले ग्रामथान गाउँपालिका प्रवेशबिन्दूबाट नै स्थान तोकेर सबारी साधनलाई रोक लगाएको हो । विराटनगर १९ मिलनचोकबाट उत्तर जान, सुन्दरहरैँचा १ बाट दक्षिण झर्न तथा कटहरी गाउँपालिका ७ बाट पश्चिमतर्फ जान र बुढीगंगा ७ बाट पूर्वतर्फ सवारी आवातजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लखे गरिएको छ ।