विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा १६ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचनमा १५ जनाले पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका छन् भने एक जना स्वतन्त्र छन् । निर्वाचन अधिकृत रामराज पौडेलले उपनिर्वाचनमा अध्यक्ष पदका लागि १६ जनाको मनोनयन दर्ता भएको बताउनुभयो । आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय छुट्याएको थियो ।
गाउँपालिका अध्यक्षको उम्मेदवारी दर्ता गराउन सवैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवीनकुमार चौधरी विश्वास, नेकपा एमालेबाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभयो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् ।
ग्रामथान गाँउपालिकामा हुने अध्यक्ष पदको लागि जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपाल पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गराउँदा एमालेबाट असन्तुष्ट बनेका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभयो ।