विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की शनिबार दिनभरि आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाटमा व्यस्त हुनु भयो । आफ्नो निर्वाचन क्षेत्र झापाको कमल गाउँपालिकामा मुख्यमन्त्री कार्कीले घरदैलोमा पुग्दै विकास निर्माणका बारेमा छलफल र अनुगमन गर्नु भएको हो ।
कार्कीले त्यस क्षेत्रमा भइरहेको विकास र कामका विषयमा स्थानीयसँग चासो राख्नु भयो । कतिपय स्थानीयवासीले सञ्चालन गरेका कृषि फर्महरुको अनुगमनमा गर्नु भएको थियो । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुन लागेको चिल्ड्रेन पार्कको निरीक्षण गर्नु भयो । गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क झण्डै १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन छ । पार्क निर्माण स्थालको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानीयको सहकार्यमा काम गर्न निर्देशनसमेत दिनुभयो ।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालय विराटनगरको २५ लाख रुपैयाँको लागतमा ५८ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानीय टिकाराम भण्डारीले बताउनु भयो । पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
साँझमा उहाँले दमकमा रहेको कदम थिएटरमा नाट्य कलाकारहरुसँग भलाकुसारी गर्नुभयो । मुख्यमन्त्री कार्कीले दिनभरि कमल गाउँपालिकाका शोकमा रहेका नागरिकहरुका घरहरुमा पुगेर भेटघाट गर्नुभएको थियो ।