विराटनगर । विराटनगर महानगरपालिकाले गत आथिक वर्षको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा महाशाख र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत उनीहरुले जानकारी गराएका छन् ।
गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । त्यस्तै उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व संकलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गर्नुभयो ।
आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्न कर्मचारीहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले हरेक वर्ष वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने व्यवस्था छ ।