Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दलहरुले टुंग्याए ग्रामथान अध्यक्षको उम्मेदवार, रास्वपा भने अझै अलमलमा



विराटनगर । नेकपा एकीकृत समाजवादी, राप्रपा, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेसले मोरङको ग्रामथानमा हुने अध्यक्ष पदको उपचुनावका लागि अध्यक्षको उम्मेदवारको टुंगो लगाएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अझै उम्मेदवार उठाउने कि नठाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा कोशी प्रदेशमा एक पालिका अध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र ७ जना वडाध्यक्षका पदका लागि प्रतिस्पर्धा हुँदैछ । जिल्ला समन्वय समिति प्रमुखबाहेक सबै निर्वाचनमा उम्मेदवार उठाउने तयारी भइरहेको रास्वपा कोशी प्रदेशले जनाएको छ ।

ग्रामथानका विषयमा टुंगो लाग्न बाँकी भएपनि अन्य ७ वटा वडाध्यक्षका लागि भने उम्मेदवार चयन भइसकेको रास्वपा कोशी प्रदेश सभापति राजेश तिम्सिनाले बताउनुभयो । ग्रामथान गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवारलाई नै समर्थन गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

भोलि बिहीबारसम्ममा यसमा निर्णय गर्ने उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्नुभएका नेमनारायण चौधरीलाई नै समर्थन गर्ने की भन्ने पनि छ, हामी दलहरुसँग चाँही कुनै पनि हालतमा सहकार्य गर्दैनौँ । उहाँले भन्नुभयो ।

कोशीमा मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । गच्छदार नेपाली काँग्रेस पार्टीबाट विजयी हुनु भएको थियो ।

ग्रामथान पालिकाको अध्यक्षका लागि नेकपा एमालेले तुल्सीराम विश्वासलाई उम्मेवार बनाउने भएको छ । कांग्रेसबाट पूर्व महासमिति सदस्य बलराम सरदार तथा माओवादी केन्द्रबाट भने कांग्रेस छाडेर दुई महिनाअघि मात्रै माओवादी प्रवेश गरेका नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ । राप्रपाले दिनेशकुमार थान्दारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीले दिलबहादुर विकलाई उम्मेदवार बनाएको छ ।

झापाको कन्काई नगरपालिका६ मा, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ वडा, सुनसरीको गढी गाउँपालिका ६ मा वडाध्यक्ष पदमा निर्वाचन हुँदै छ । यस्तै ओखलढुंगाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२ तथा बेलका नगरपालिका ९ मा पनि उपनिर्वाचन हुँदैछ ।

वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिम हङकङ गएपछि ताप्लेजुङको सरिजंघाा गाउँपालिका वडा नम्बर ३ मा पनि उपनिर्वाचन हुँदैछ । एक वर्षअघि हङकङ गएका बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी जिल्ला समन्वय समिति ओखलढुंगाको रिक्त रहेको प्रमुखका लागि समेत मंसिर १६ मै निर्वाचन हुँदैछ । नेपाली काँग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।

रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार