विराटनगर । २०७९ सालको निर्वाचनमा एमालेलाई चौतर्फी घेराबन्दी थियो । यो समयमा नेपाली काँग्रेसको बलियो क्षेत्रको रुपमा मोरङ क्षेत्र नम्बर २ (ख)लाई हेरिन्थो । तर निर्वाचनको परिणाम आउँदा ठुलो अन्तरले लीलावल्लभ अधिकारी निर्वाचित भए । उनी यस अघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
नेकपा एमालेको पुराना कार्यकर्ताका रुपमा चिनिएका अधिकारी २०४९ सालमा नै गाविस अध्यक्ष उम्मेवार थिए । त्यसो त उनी २०५६ सालमा पनि प्रतिनिधि सभा सदस्यको उमेद्वार बनेका थिए । पछिल्लो समयमा भने उनी विराटनगरमा बसोबास गरेपनि निर्वाचन क्षेत्रका जनतासँग भिजेका छन । उनी मन्त्री भएपनि सीमान्तकृत समुदाय मुसहर, बातर, सन्थालजातीका मानिसहरु चप्पलै नलगाइकन उनलाई भेट्न मन्त्रालय आइपुग्थे । अधिकारीसँग तल्लाे तहका जनताले सहज पहुँच मात्र नभएर काम समेत सहज लिन सक्ने अवस्था रहेकाे छ ।
अधिवक्ता रहेका अधिकारीको सीमान्तकृत समुदायका मानिसहरुको मुद्धा निशुल्क हेर्ने र बिरामी हुँदा अस्पताल पुगिहाल्ने शैलीले निर्वाचन क्षेत्रमा जनताको अत्यधिक साथ छ । भाषाकाे ज्ञानले पनि उनी सहजै घुलिमल हुने उनी निर्वाचन क्षेत्रमा पुग्दा सीमान्तकृत समुदायमा नै पुगेर बस्ने, खाने र सुत्नेसम्म गर्छन् । उनको निर्वाचन क्षेत्रका दुखःसुखमा उनी विराटनगरबाट हुँइकिएर पुगिहाल्छन् । त्यस क्षेत्रका स्थापित अन्य पार्टीका नेताहरु पनि उनलाई जतिसुकै आरोप लगाएपनि अर्काे पटकको चुनावमा पनि हराउन नसक्ने स्वीकार छन ।
प्रदेश सभाको निर्वाचन पछि अघिल्लो पटक उनी करिब २ महिना र यो पछिल्लो पटक १३ र करिब साढे ५ महिना गरेर तीन पटक मन्त्री भए ।
गत जेठ ४ गते मन्त्री भएका अधिकारीले जापान प्रकरणलाई लिएर कार्तिक २१ गते राजीनामा दिए । राजीनामा दिएसँगै उनका विषयमा अनेकन प्रश्नहरु उब्जिएका छन् । तर उनी जापान जाने प्रकृया मन्त्री परिषदको निर्णय गराएर जानु पर्नेमा त्यो प्रकृया पुरा गरेनन् । आफ्ना पुराना साथीको पुरै विश्वासमा पर्दा उनी जापान जाने प्रकृयामा फसे ।
उनलाई जापान जानबाट रोक्नका लागि प्रयत्नहरु प्रसस्तै भए तर आफूले विश्वास गरेको साथीले यस्तो गर्छ भन्ने कल्पना उनले गर्न सकेनन् । अधिकारीले भन्ने गरेकाछन – ‘मैले धेरै विश्वास गरेकाले फसे तर म चुकेको छैन् । मैले हङकङ पुगेपछि थाहा पाए र यो ठगीको विषयमा प्रहरी र सम्बन्धित निकायलाई जानकारी गराएर मानिस पक्राउ गर्न सहयोग गरे ।’ याे विषयमा अनुसन्धान पुरा नहुन्जेल सहयाेग गर्ने उनले बताइरहेका छन ।
उनले प्रहरीलाई पठाएको एसएमएस र फोटोहरु सार्वजनिक भइसकेका छन् । उनका एक शुभचिन्तक भन्छन -‘उनले आफ्ना सबै कुरा बताएर अनुसन्धानलाई सहयोग गरेका छन् ।’ तर अब यो विषयलाई लिएर अनेक कोणबाट खेल्ने प्रयत्न भइरहेको छ । ‘पार्टीले पनि छानबिन बढाइसकेको र सरकारको मन्त्रीबाट बाहिरिएर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा उनको पछि लाग्नु कुनै तुक छैन ।’ – उनका शुभचिन्तकहरुले भन्ने गरेका छन् ।