Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाको बालुवाटारमा प्रदर्शन : ११ जना पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले ११ जना प्रर्दशनकारी पक्राउ गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको उल्लेख गरेका छन् । उनले पक्राउविरुद्ध भत्र्सना गर्दै शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् भएको बताए ।

रास्वपाले बालुवाटारको नेपाल हाउस नजिक प्रदर्शन गर्ने बताए पनि प्रहरीले रोकेपछि केही तल भाटभटेनी नजिक पीपल बोटमा प्रदर्शन गरेको छ ।

आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, व्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।

यसका साथै कार्यक्रमलाई उपसभापति डा।स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा हुँदै काठमाडौंमा आन्दोलन जारी राखेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार