काठमाडौँ, ११ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीलगायत आइतबार काठमाडौँमा युवा सङ्घ नेपालले आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन कार्यक्रममा सहभागीहरु । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालले आजदेखि एआई सम्मेलन सुरु गरेको छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन आजदेखि सुरू सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले बताउनुभयो ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उहाँले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताउनुभयो ।
युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।
विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।