विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान योगेन्द्रकुमार कार्की गएराति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३१ वर्षीय योगेन्द्रकुमार कार्की राति सवा ८ बजे झुन्डिएको अवस्थामा भेटिएका हुन् । कोठामा भित्रबाट ढोका बन्द गरेर पंखाको हुकमा पासो लगाइ झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
कार्कीकी पत्नी इन्दु थापासमेत जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत जवान हुन् । ड्युटी सकेर कार्यालयबाट कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर इन्दुले नै घटनाको जानकारी दिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
उनका अनुसार तत्काल घटनास्थल पुगी ढोका फुटाएर हेरिएको थियो । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ सय मिटर उत्तरमा पर्छ । घटनाको कारण खुल्न नसकेको र अनुसन्धानपछि यकिन हुने प्रहरीले जनाएको छ ।