Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण



विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई तथा विद्युत आयोजनाहरु भत्किएको भन्दै पुनः निर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरुको ज्यान गएको छ भने चार जना नागरिक वेपत्ता छन् ।

बाढीले सयौंको संख्यामा घरवारबिहीन र अरबौ मूल्यको आधा दर्जन पक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको भन्दै माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, वेपत्ता तथा घरवार बिहीन पीडित पाँचथरवासी जनसमुदायहरुको यथाशिघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार