पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
पोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् ।
रास्वपाका सबै केन्द्रीय नेताहरु पोखरा पुगेका छन् । उनीहरुले आव कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रम राखेका छन् । विरोध कार्यक्रममा उपस्थित हुन रास्वपाले आव्हान गरेको छ । उता सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा भेला भएर प्रदर्शन गर्ने जनाएका छन् ।
हिजोदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादीका कार्यकर्ताहरुले पनि साथ दिएका छन् । सत्ता पक्षका एमाले र काँग्रेसले भने सहकारी पीडितका पक्षमा उपस्थित हुन आह्वान गरिरहेका छन् ।
शुक्रबार पक्राउ पुर्जी जारी गरेर साँझ पक्राउ गरी रविलाए पोखरा पुर्याइएको छ । हिजो शनिबार अदातल बिदा भएको कारण उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
यसअघि गत असोज ६ गते गोर्खा मिडिया प्रालिकै पूर्वसञ्चालक पूर्व डिआइजी छविलाल ओझालाई पक्राउ गरेर पोखरा ल्याउँदा नै रविसमेत पक्राउ पर्न लागेको भन्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । सहकारी पीडितले पनि रविलाईसमेत पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै शहीद चोककै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दा केही समय पीडित र समर्थन आमने–सामने भएका थिए ।
रास्वपाका नेता–कार्यकर्ताले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका रविलाई पक्राउ गरी कांग्रेस, एमालेले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सहप्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, तोसिमा कार्कीलगायतले रवि पक्राउको मूल्य सरकारलाई चर्को पर्ने चेतावनी दिएका छन् ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।
उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।