विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीप्रति जनताको विश्वास हट्ने काम नगर्न आग्रह गर्नुभएको छ । प्रहरीले जनतालाई कहिले पनि निराश हुने गरी काम गर्न नहुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जनतालाई प्रहरीबाट सहयोग हुन्छ भन्ने भरोसा रहेको बताउनुभयो ।
६९ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले जनताको काममा मनोबल उच्च राखेर अनुभूति दिलाउनु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘तपाईं कहाँ आएको व्यक्ति निराश भएर फर्कियो भने सुरक्षाको प्रत्याभूति नहुने, शान्ति सुरक्षा र अमनचयनमा पनि दखल पर्न सक्छ । हामी सरकारमा भए पनि जनताको पहिलो सरकार भनेको तपाईं प्रहरीहरु नै हो । जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई कुनै पनि किसिमबाट निराश बनाउने काम कहिले पनि गर्न हुँदैन ।’