विराटनगर । आज दशैंको टीकाको तेश्रो दिन, आजपनि टीक र जमरा लगाएर आर्शिवाद थाप्ने क्रम जारी छ । आजसम्म सार्वजनिक बिदा रहेको कारण पनि दशैँको रमझम बाँकी नै छ ।
विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ ।
दशैँका लागि गाउँघर पुगेकाहरुको फर्किनेक्रम पनि शुरु भएको छ । भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले प्राय गाँउ फर्किएकाहरु आज फर्किँदैछन् । काठमाडौंसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।
गएको असोज १०, ११ र १२ गतेको बाढी पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।
काठमाण्डौको असनका बासिन्दाले हिजो विजयादशमीको टीका लगाएका छन् भने पश्चिमी क्षेत्रका केही जिल्लामा भने विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ ।