विराटनगर । विराटनगर ओपन स्काउट क्र्युले नेपालीहरुको चाड दशैं तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरको सत्यनारायण माविमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्काउटले सामाजिक कार्यमा भूमिका बढाउँदै गएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले स्काउटलाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको बताउनुभयो ।
विराटनगर स्थानीय स्काउटको व्यवस्थापनमा आयोजित कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विराटनगरका विभिन्न १४ वटा विद्यालयका विद्यार्थी र प्रदेश विभिन्न १५ वटा पालिकाका स्काउट आयुक्तलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका क्रयुबाट प्रतिनिधिमूलक रुपमा नृत्यलगायतका प्रस्तुति रहेको विराटनगर महानगरपालिका स्थानीय स्काउट प्रमुख आयुक्त नवीन पहाडीले जानकारी दिनुभयो ।
नेपालीहरुको सांस्कृतिक पर्वहरुको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरिएको ओपन स्काउट क्र्युका अध्यक्ष नवलप्रसाद उपाध्यायले बताउनुभयो ।