Dhaulagiri (8167 m)
काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरु मृत अवस्थामा फेला परेका हुन् । उनीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।
आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको हो । उनीहरुले आफूहरु अघि बढ्न नसकि फर्किने निर्णयमा पुगेको उनीहरुले आधारशिविरमा भएका साथीहरुलाई जानकारी गराएका थिए । सोमबार र मंगलबार खोजी गर्दा उनीहरुको शव फेला परेको हो । मृत्यु हुने सबै रसियाका आरोही हुन् ।
यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७ ७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।
प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।