Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यातायात खुलाउन माग गर्दै काँग्रेसले मुख्यमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र



विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले बाढी पहिरो र डुवानमा परेकाहरूलाइ राहत, प्रभावितलाई तत्काल क्षतिपूर्ति र अवरुद्ध यातायात खुलाउन माग गर्दैमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीलाइ विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापन पत्र बुझाउँदा अन्य मन्त्रीहरुलाई समेत भेला गरिएको थियो ।
प्रदेश सरकारले गत आइतबार नै प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

ज्ञानपन पत्र बुझाउन आएका पार्टीका नेताहरुलाई मुख्यमन्त्री कार्कीले राहत वितरण गर्ने निर्णय भइसकेको र अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले बाढीले अवरुद्ध भएका सडक खोल्ने र पुललगायतको मर्मत सम्भार र निर्माणलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।

‘काँग्रेसले बुझाएको ज्ञापन पत्रमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरुको खोजी, विस्थापितहरुको पुनर्स्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरुलाई आवश्यक राहत सरकारले उपलब्ध गराउन माग गरिएको छ । मर्मत गरेर सञ्चालनमा आउन सक्ने झोलुङ्गे पुलहरुको मर्मत, नयाँ झोलुङ्गे पुलको निर्माण, बेलिब्रिजको निर्माण, अवरुद्ध सडक र पुलको पुनर्निर्माण गरी तत्काल आवतजावत सुचारु गर्न पनि काँग्रेसले माग गरेको छ । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा २० जनाको मृत्यु भएको थियो । ७ जना बेपत्ता छन् । ६ सय बढी परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण ३४ वटा पुलमा क्षति पुगेको थियो । भौतिक पूर्वाधार तर्फ करिब १ अर्ब ११ करोड २० लाख बराबरको क्षति भएको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार