Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुई अर्ब रुपैयाँ बढी बचतकर्ताको रकम ठगी गरेका मेयर दिल्लीमा फेला



काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा फेला परेका छन् । उनलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका हुन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको जानकारी दिए ।

नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली २०८० जेठ ५ गतेदेखि फरार रहेका थिए । बचतकर्ताको दुई अर्ब रुपैयाँ बढी ठगी गरेको आरोप लागेका इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा पनि शाखा रहेको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।

श्रीमतीसहित फरार रहेका मेयर नेपालीले ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार