Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मानवता इतिहासकै कठिन मोडमा : परराष्ट्रमन्त्री



विराटनगर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहनुुभएकी मन्त्री डा. राणाले बिहीबार सम्पन्न एसियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरुका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै उक्त धारणा राख्नुभएको हो ।

सो बैठकमा उहाँले भन्नुभयो, “हामीहरु अहिले विश्वमा सबैभन्दा बढी समस्यामा छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिन प्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरु पग्लिने क्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारहरु समेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।”

यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरु, भूपरिवेष्टित राष्ट्रहरु तथा विश्वका अतिकम विकसित राष्ट्रहरु बढी मारमा परिरहेका मन्त्री डा. राणाको भनाइ थियो ।

त्यसैले यी देशहरुलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’को आवश्यक रहेको उहाँले बताउनुभयो । यस्तो समस्यामा परेका देशहरुलाई दिगो विकासका लागि सहयोगको बढाउन मन्त्री डा. राणाले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “एकातर्फ यो प्राकृतिक विपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मावन सृजित हिंसा र द्वन्द्वको शिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा र द्वन्द्वले सिङ्गो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरु र मानिसहरुबिचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।”

यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एसियाली देश र जनताबिचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री डा. राणाले एसियाली देशहरुले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबैखाले समस्याको सामना गर्ने भन्ने बारेमा सोच्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी एसियालीहरुको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एसिया र विश्वका चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचीन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र वैश्विक समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।”

उहाँले एसिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एसियाले भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा. राणाले राष्ट्रसङ्घीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभयो ।

त्यस क्रममा उहाँले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पुर्‍याउने अन्तिम तयारी गरिरहेको जानकारी पनि दिनुभएको थियो ।

नेपालको संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उहाँले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताउनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार