विराटनगर । नेकपा एमालेको विराटनगर महानगर कमिटी गत जेठ ३१ गतेदेखि विवादमा पर्यो । विराटनगर ३ पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई लिएर नेकपा एमालेका नेता तथा कार्यकर्ता पङ्ती विभाजित भयो । यही कारण महानगर अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपालसहित केही नेताकार्यकर्तालाई कारबाही परे । त्यसपछि अनेक विवाद र कमिटीगत छलफल पछि महानगरमा कमिटीमा क कसलाई ल्याउने भन्ने विवाद र बहस भयो ।
मोरङको राजनीतिमा लामो समय कर्नरमा परेका जीवन घिमिरे शक्तिमा आए, उनीसँगै अहिलेका जिल्ला पार्टी अध्यक्ष बाबुराम कार्की र प्रदेश सदस्य परशुराम बस्नेत एउटै टिममा उभिएपनि तदर्थ समितिको अध्यक्ष तथा पदाधिकारी कसलाई बनाउने भन्ने विषयमा भने लामो समयसम्म एकमत हुन सकेन ।
यही कारण लामो समयसम्म विराटनगर महानगर कमिटी पुर्नगठन हुन सकेन । परशुराम बस्नेत सुरु देखि नै आफ्ना विश्वासपात्र रोहित कोइरालालाई अध्यक्ष बनाउन चाहान्थे । जीवन घिमिरेले भने रोहितको विकल्प खोज्दै बिक्रम तिवारीदेखि राजन भण्डारीसम्मलाई अघि सारे । विकल्पकै रुपमा केहीले विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीलाई पनि अघि सारे ।
अध्यक्षका लागि यी सबै नाममा विभिन्न कोणबाट छलफल भएपनि अन्त्यमा परशुराम बस्नेत हावी भए । पदाधिकारीहरुको नाममा सहमति नहुँदा महानगर कमिटी पुर्नगठनमा ढिलाई भएपनि सुरुदेखि नै सचिवमा आएको नाम बलाराम गिरी (नविन) भने निर्विकल्प देखिए । जीवन घिमिरे, बाबुराम कार्की, परशुराम बस्नेतदेखि विनोद ढकालसम्मको समर्थन उनले पाए । एकअर्कालाई सम्मान गर्ने, सरल बानी र पार्टीलाई परेको बखतमा तयार हुने कारणले उनलाई सबैले पत्याए ।
कोशी प्रदेशका इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसम्मले गिरीको व्यवहारलाई रुचाएको कारण पनि उनी अन्तत मनोनितको श्रृंखलामा निर्विकल्प सचिव भएर आए । गिरीको सबैलाई मिलाउन सक्ने क्षमता देखेर महानगरका एक सदस्यले भने – ‘उनले यो व्यवहारलाई कायम राखे छिट्टै नै महानगरको नेतृत्व गर्ने लक्षण देखिएको छ ।’