विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा हत्या गरेको अवस्थामा घरभित्र १ जना पुरुषको शव फेला परेको छ ।
आज बिहान साढे ७ बजे ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनको आफ्नै घरको प्यासेजमा शव भेटिएको दाहालले बताए ।
तामाङको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको छ । दाहालका अनुसार शवनजिकै रगत लतपतिएको अवस्थामा खुर्पा पनि फेला परेको डिएसपी दाहालले जानकारी दिए ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ । घटनापछि चन्द्रबहादुरका छोरी ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । राई घरज्वाइँ बस्दै आएका थिए भने घरमा तामाङ र ज्वाइँ मात्रै रहेको प्रहरीले जनाएको छ । उनकी पत्नी वैदेशिक रोजगारीमा गएकी छिन् ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । गएराति ससुरा र ज्वाइँ दुबैले मादक पदार्थ सेवन गरेका थिए । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।