विराटनगर । मदन भण्डारी फाउन्डेसन, कोशी प्रदेश समितिले सुशासन र समृद्धिको लागि ‘जबजको मार्गदर्शनमा सुशासन र समृद्धि तथा अवसर र चुनौती’ विषयक दुई दिने गोष्ठी आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले प्रेस विज्ञप्ति जारी गर्दै भोली हुने उद्घाटनमा उपस्थित भई सुझाव दिन समेत आग्रह गरेको छ । कोभिडको महामारी, भूमण्डलीय तापक्रमको उच्च वृद्धि, अदेखा अनियमितता तथा भ्रष्टचार र तिनीहरूको प्रभाव–परिणामले सबैलाई असर गरिरहेको उल्लेख गर्दै फाउन्डेसनले त्यसबाट उत्पन्न आंशिक आर्थिक मन्दीबाट कोशी प्रदेश पनि गुज्रिरहेको उल्लेख गरेको छ ।
देशका सात प्रदेशहरू मध्ये अब्बल कोशी प्रदेश रहेपनि औद्योगिक, व्यवसायीक, विकासका पूर्वाधार र रोजगारीलगायत धेरै क्षेत्रहरूमा समस्या रहेको उल्लेख गर्दै फाउन्डेसनले समस्या छन् भनेर हामी चुप लागेर बस्ने नहुने भन्दै सचेत नागरिकहरूले उपायहरूको खोजी गरेर कार्यान्वयन गर्नु–गराउनु दायित्व रहेको चर्चा गरेको छ ।
गोष्ठीको बृहत् अन्तरक्रियाबाट निकालिएका निष्कर्षहरूलाई कार्यान्वयन गर्ने–गराउने निकायहरूलाई प्रदान गरिने र कार्यान्वयनका लागि निरन्तर सहजीकरण र खबरदारी गरिने बताइएको छ । नेपालकी प्रथम महिला राष्ट्रपति श्री विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने गोष्ठिमा नेकपा एमालेका वरिष्ठ वैचारिक नेता तथा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत हुने जानकारी दिइएको छ ।
नेपालमा सुशासन र समृद्धिका लागि कस्ता–कस्ता योजना र कार्यक्रमहरू, के–के नीति नियमहरू क–कसले कसरी–कसरी कार्यान्वयन गर्नु–गराउनुपर्दछ भन्ने सुझाव दिनसमेत सरोकारवालाहरुलाई उद्घाटनसत्रमा उपस्थित भइदिनु हुन फाउन्डेसनले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
उद्घाटन सत्र विराटनगर पाञ्चाली स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा विहान ११ बजे हुने फाउन्डेसनले जनाएको छ ।