विराटनगर । विराटनगरको लक्ष्मी सनराइज बैंकबाट ग्राहकको कागजात दुरुपयोग भइरहेको पाइएको छ ।
व्यक्तिगत सम्पत्ति विवरणको कागजात अन्य व्यक्तिलाई उपलब्ध गराएर बैंकले बदमासी गरेको पीडितहरुले बताएका छन् । मोरङको बेलबारी नगरपालिका–३ का प्रतापकुमार थापा र उनका छोरा प्रभाष थापाले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैंकले आफूहरुलाई फसाएको गुनासो गरे ।
विराटनगरको लक्ष्मी सनराइज बैंकमा प्रतापको खाता छ । उनले गाडी किन्न बैंकबाट सन् २०१५ मा ऋण लिँदा छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेका थिए । गाडी किन्नलाई लिएको ऋण पनि तिरिसकेका छन् । गाडी प्रतापकै नाममा आइसकेको छ ।
तर, प्रभाषको कागजात प्रयोग गरेर वीरगन्जको लक्ष्मी सनराइज बैंकबाट अर्कै व्यक्तिले कर्जा निकालेको पीडितले बताए । रामेश्वर सेढाईं क्षेत्रीले प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेर बैंकको अर्कै शाखाबाट २०७७ जेठ १४ मा ४८ हजार ८ सय ६७ र २०७७ जेठ १७ मा २६ लाख ७६ हजार ९ सय ६२ रुपैयाँ ऋण लिएको प्रतापले बताए ।
उनका अनुसार बैंकको वीरगन्ज शाखाबाट २ पटकसम्म ऋण निकालिसकेका रामेश्वर फेरि १० करोड रुपैयाँ ऋण लिनलाई स्वीकृति गराउने प्रक्रिया सुरु गरेको पाइएको प्रभाषको भनाइ छ ।
बैंकको विराटनगर शाखाका कर्मचारीले रकम लेनदेन गरेर आफ्नो सम्पत्ति विवरणको कागजात रामेश्वरलाई उपलब्ध गराएको र उनले वीरगन्ज शाखाबाट पुनः १० करोड ‘ट्रमलोन’ लिन प्रक्रिया अघि बढाएको प्रभाषको दाबी छ । आफुले चिन्दै नचिनेको रामेश्वर सेढाईं क्षेत्रीले कसरी मेरो कागजात फेला पारेर मलाई ग्यारेन्टीमा राखे भन्दै उनले आश्चर्य प्रकट गरे । यसमा बैंकका कर्मचारीको हात भएको उनको आरोप छ । विराटनगरको लक्ष्मी सनराइज बैंकबाट आफ्नो कागजातको दूरुपयोग भएको उनको भनाइ छ ।
प्रभाषका अनुसार कारोबारका क्रममा सांग्रिला बैंकले कर्जा सूचना केन्द्र कमलादी काठमाडौंबाट केही समयअघि मगाएको ‘सीआईसी’ रिपोर्टमा रामेश्वरले यसअघि २ पटक ऋण लिइसकेको र फेरि ऋण लिन प्रक्रिया अघि बढाएको पत्ता लागेको हो । यसअघि कर्जा लिँदा र फेरि लिनका लागि प्रभाषलाई नै व्यक्तिगत ग्यारेन्ट राखेको बताइएको छ ।
यो विषयमा बैंकमा कुरा राख्दा हामी सुधार गर्छौैंभन्ने जवाफ मात्रै आएको भन्दै उनले न्याय नपाएको बताए । प्रभाष बेलबारी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत हुन् ।
विराटनगरस्थित बैंकका म्यानेजर सुदीप रायमाझीले आफूहरुबाट गल्ती भएको स्वीकार गरेको दाबी प्रभाषको छ । प्रभाषले आफूजस्तै अन्य धेरै व्यक्तिलाई बैंकले फसाएको हुनसक्ने बताए । उनले यस घटनामा दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत गरेका छन् ।
विराटनगरस्थित बैंकका प्रबन्धक सुदीप रायमाझीले कहिलेकाहीँ गल्ती हुनसक्ने बताए ।