Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्रामथानका पूर्वअध्यक्ष माझीसहित ९ जना जुवा खेल्दै गर्दा पक्राउ, १८ लाख रुपैयाँ बढी बरामद



विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा रहेको बाह्रमासे जुवाखालमा छापा मारेर गाउँपालिका अध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति जुवाखालमा छापा हानेको हो ।

कटहराको बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा राति ८ बजे छापा मारेको हो । प्रहरीले उनीहरुको साथबाट साढे १८ लाख रूपैयाँभन्दा बढी नगद बरामद गरेको छ । त्यहाँ जुवा खेल्न मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबीलगायतका स्थानबाट पुग्ने गरेका छन् ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले संयुक्त रूपमा टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो । एसपी कार्कीका अनुसार पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ ।

जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको उहाँले बताउनुभयो । जुवा खेलिरहेका अझै केही फरार रहेको उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान सुरु गरेको छ । प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार