विराटनगर । पूजाको प्रसाद खाएका झापा अर्जुनधारा नगरपालिकाका एक गाउँका सबै जना विरामी भएका छन् ।
अर्जुनधारा नगरपालिका ९ को खरबन्दीमा लगाएको पुजाको प्रसाद खाएका सबै गाउँले र आफन्त सबै बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।
प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिनुभयो । प्रसाद घरमा लगेर खाने र पुजाघरमै सब्जी तरकारी, रोटी, अचार खानेहरु बिरामी भएका छन् ।
अर्जुनधारा नगरपालिका ९ का वडा अध्यक्ष भिष्म मिश्रले करिब ६० जना बिरामी भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको बताउनुभयो ।
पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । ज्वरो पनि आएको छ । सबैलाई फुड पोइजन भएको हो । प्रसादमा फुड पोइजन भएको कारण सबै जना बिरामी भएको वडाध्यक्ष मिश्रले बताउनुभयो ।