Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सर्दू जलाधारको जग्गा छिनोफानो गर्न सांसद बस्नेतको माग



विराटनगर । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले धरानको सर्दू जलाधार क्षेत्रको जग्गाको रोक्का हटाउन माग गर्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट निर्वाचित प्रदेश सांसद बस्नेतले सट्टा भर्ना लिएकाहरुको जग्गा सरकारको नाममा ल्याउन र सट्टा भर्नामा नपरेकाहरुको भने जग्गा फुकुवा गर्न माग गर्नुभएको हो ।

आज प्रदेश सभा बैठकमा विषेश समय लिएर बोल्दै बस्नेतले यस्तो माग गर्नुभएको हो । उहाँले सर्दु जलाधार क्षेत्रको ७ सय ५२ विगाह जग्गा रोक्का गरिएको भएपनि ३ सय ४५ विगाहा ४ कठ्ठा जग्गाका धनीहरुलाई मात्रै सट्टा भर्ना दिएको प्रस्ट पार्नुभयो । तर ४ सय ५ बिगाहा जग्गाका धनीहरुले भने पीडित बन्नु पर्ने अवस्था आएको भन्दै उहाँले मुआब्जामा नपरेका र सट्टा भर्ना पनि नपाएका जग्गा फुकुवा गर्नका लागि पहल गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सर्दू जलाधार भन्ने वित्तिकै कुरै नबुझि हल्ला हुने गर्छ, मुआब्जा लिएका र सट्टा भर्ना लिएका ३ सय ४५ बिगाहा ४ कठ्ठा जग्गा नेपाल सरकारको नाममा तुरुन्त ल्याउनु पर्छ र सट्टा भर्ना र मुआब्जामा समेत नपरेका पीडितहरुको जग्गा भने फुकुवा गर्न सरकारले पहल गर्नै पर्छ ।’ २५ सय परिवारले जग्गा विक्री बितरण गर्न र बैंकमा राख्न समेत नपाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार