Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमुख्यन्त्रीको रातिको स्टाटसप्रति प्रेस चौतारीको आपत्ति, कानुनी कारबाहीमा जाने चेतावनी



विराटनगर । प्रेस चौतारी कोशी प्रदेश कमिटीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ ।

सार्वजनिक रुपमा माफी माग्न २४ घण्टे अल्टिमेट दिँदै सार्वजनिक रुपमा लिखित माफ नमागे कानूनी कारबाहीमा जाने चेतावनी दिएको हो । प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने चौतारी प्रदेश कमिटीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्ष विष्टले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई लिएर चौतारीले आपत्ती जनाएको हो ।

प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा स्ट्याटस लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो सङ्गठनको ठहर छ ।’

नेपाल पत्रकार महासङ्घ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ बजेर १० मिनेटमा गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबैलाई बधाई दिएको सवाल पूर्वमुख्यमन्त्री कार्कीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने काम प्रति चौतारीले घोर निन्दा र भत्र्सना गरेको छ ।

पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका बिषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको विज्ञप्तिमा उल्लेख छ । पूर्वमुख्यमन्त्री कार्कीले यसअघि पनि पत्रकारलाई समाचार लेखेको विषयमा बलात्कारको मुद्दा लगाउने सम्मको गैर जिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले यस्तो हर्कत नगर्न चेतावनी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार