विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति, नियम, कानून, कर्मचारीतन्त्र, कार्यसम्पादनमा भएका त्रुटीहरु सच्याएर अघि बढ्न आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्की सबै पक्षले यसमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरुमा आशा जगाएको मैले पाएको छु, निर्माण व्यवसायी र कानूनी अफ्ट्याराका कारण अझै पनि विकास निर्माणको काम द्रूत गतिमा र गुणस्तरीय हुन सकिरहेको छैन, यसले सरकारप्रति पनि वितृष्णा बढाउने काम गरेको छ ।”
मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रकृयामा भएक त्रुटिमा आफ्नो ध्यान गएको र यसलाई सच्याउन संघीय सरकारलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले गर्न सक्ने जति काम भने यही दशैँ अघि नै सक्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले लगाएका ठेक्काहरुको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रदेशले बनाएका कानुनमा केही त्रुटी भए त्यो आगामी हिउँदे अधिवेशनबाट समाधान गर्ने उहाँले बताउनुभयो ।
उहाँले न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेको भन्दै यसमा पनि गम्भीर हुन आवश्यक रहेको औल्याउनुभयो । यसले गर्दा समग्र मुलुककै कार्यदक्षतामा प्रश्न उठ्न थालेको र यस्तै अवस्था रहे मुलुक नै टाट पल्टिने अवस्था पुग्ने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो -“सबैले गम्भीर भएर समिक्षा गर्न जरुरी छ, सम्माननीय प्रधानमन्त्रीज्युले समेत यसलाई गम्भीर रुपमा लिनुभएको छ, प्रमुख सत्ता घटक नेपाली काँग्रेसका सभापति ज्युले पनि समास्या समाधान गर्न तत्परता देखाइरहनुभएको छ, उहाँहरुलाई राखेर समस्या हल गर्न म तयार छु ।”
कतिपय समस्याहरु भने निर्माण व्यवसायीकै कारण आएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई समिक्षा गरेर सच्याउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रवि सिंहले निर्माण व्यवसायीहरुको समस्याका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सार्वजनिक खरिद ऐन, कर्मचारीतन्त्र र सरकार, भुक्तानीमा ढिलाई लगायतका समस्याले निर्माण व्यवसायीहरु गम्भीर अवस्थामा पुगेको बताउनुभयो ।
निर्माण व्यवसायी संघ मोरङका सचिव राधेश्याम कट्टेलले मुख्यमन्त्री कार्कीले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न व्यक्त गर्नु भएको प्रतिबद्धता प्रति संघ विश्वस्त रहेको भन्दै प्रतिवद्धताले आशा पलाएको बताउनुभयो ।