विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की २१ वर्षीया अस्मिता पौडेल (कार्की)ले आफ्नै छोरीहरू १ वर्षीया आइंका र ३ वर्षीया अर्पणाको विष खुवाएर हत्या गरेको उनले नै प्रहरी समक्ष स्वीकारिन् । पत्रकार सम्मेलन समा समेत त्यसै भनिन् । अब उनलाई सजाय के हुन्छ त ? कानुनका जानकार भन्छन्, ‘उनललाई जीवित रहेसम्म जेल सजाय हुन सक्छ ।’
मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा जीवित रहेसम्म कैद सजाय हुने भनिएको छ । उक्त संहिताको दफा ४१ को (क) अनुसार क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा र दफा ४१ को (घ) अनुसार सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा कसुरदारलाई बाँचुन्जेलसम्म कैद सजाय हुन्छ ।
तर, उनलाई आजीवन जेल हुनका लागि अनुसन्धानबाट प्रमाणित हुनुपर्छ र सोही अनुसार मुद्दा चल्नुपर्छ । पेय वा खाद्य पदार्थमा विष मिसाएरै खुवाएको चैं अहिलेसम्म पुष्टि नभएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले पत्रकार सम्मेलनमा बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
अनुसन्धान अधिकारी अनुसन्धानको तथ्य र प्रमाणका आधारमा कस्तो सजाय हुन्छ भनेर निर्धारण हुने बताउँछन् ।
शारीरिक रूपमा कमजोर रहेकी अस्मिता विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार अदालतबाट म्याद थप गरेको छ । उनलाई उपचारका लागि विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि थप अनुसन्धानका लागि उनलाई बेलबारी लगिएको थियो ।
अस्मिताले श्रीमान अर्जुन कार्कीसँगको रिसका कारण २ नाबालिका छोरीको हत्या गरेको बताएकी थिइन् । सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केराघारीभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शनिबार दिउँसो शव भेटिएको थियो । त्यसपछि वेपत्ता भएकी उनलाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला बुधबार फेला पारेको थियो ।