Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केदार कार्कीप्रति मुख्यमन्त्रीको टिप्पणी ‘नमिठो बोल्नेसँग लाप्पा खेल्ने कुरा भएन’



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारका बारेमा नमिठो बल्नेसँग लप्पा खेल्न नमिल्ने बताउनुभएको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले लगातार सरकारका विरुद्धमा आरोपहरु लगाइरहेको सन्दर्भमा मुख्यमन्त्री कार्कीको यस्तो टिप्पणी आएको हो । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।”

सरकार गतिशिल र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभइ काम गर्न लागि पर्ने उहाँले बताउनुभयो ।

आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।”

मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाडै मन्त्रिपरिषद बिस्तार हुन्छ । उहाँले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताउनुभयो । अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरुलाई तीव्र गति दिइने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार