काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिनका लागि थप भएको छ ।
आज संसद बैठकमा समितिका सभापति सूर्य थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
जेठ १५ गते गठन भएको विषेश संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिने थियो ।
बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताउनुभयो । तर काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने भन्दै म्याद थप गर्न माग गर्नु भएको थियो ।
सहकारी बचतकर्ताको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय मागको प्रस्ताव गर्ने भनी समितिको बैठकबाट निर्णय समेत भएकाले १५ दिन समय थप गर्ने प्रस्ताव राख्नु भएको थियो ।