विराटनगर । विराटनगर महानगरपालिकाले राजमार्ग क्षेत्रमा सिटी रिक्सा चलाउन प्रतिबन्ध गरेपछि सिटीरिक्सा चालकहरुले आन्दोलन गरेका छन् । आज दिउँसो १२ बजेदेखि उनीहरुले बरगाछी चोकमा भेला भएर चक्का जाम गरेका थिए । हिजो बिहीबारदेखि विराटनगर महानगरपालिकाले सिटी रिक्सा सञ्चालनमा रोक लगाएको थियो ।
चारै तिर सिटी रिक्सा तेर्स्याएर उनीहरुले सडक अवरुद्ध गरेका थिए । सिटी चालकहरुले राजमार्ग क्षेत्रमा सिटी सञ्चालन गर्न नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
करिब १ घण्टा चक्का जाम गरेका हुन् । भोलि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल गर्ने सहमति भएपछि आन्दोलन आजलाई स्थगित गरिएको अभियान्ता अभिषेक गिरीले बताउनुभयो ।
आज भने राजमार्ग क्षेत्रमा सिटी चलाउन दिने सहमति भएको उहाँले बताउनुभयो ।