माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आज शुक्रबार प्रदेशसभा बैठक अघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
असार १७ गते कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले साउन ११ गते सरकार छाडेको भएपनि अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । आज प्रदेशसभा बैठक अघि माओवादी केन्द्रका सबै सांसद भेला भएर सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत बैशाख २७ गते मुख्यमन्त्री बन्नु भएको हो । असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त हुनु भएका मुख्यन्त्री कार्कीलाई दिएको सर्मथन प्रत्येक सांसदले फिर्ता लिनु पर्ने हुन्छ ।