विराटनगर । विराटनगरको महापर्वको रुपमा रहेको दक्षिण एशियाकै दोश्रो ठुलो रथयात्रा आज (मंगलबार) दिउँसो तीन बजेदेखि सुरु हुँदैछ । पोखरीयास्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ बजेपछि सुरु हुने युगल जोडी राधाकृष्णको रथयात्राले विराटनगरको विभिन्न भागको परिक्रम गर्ने छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा लाखौँले दर्शन गर्ने र रथको डोरी तान्ने आयोजकको भनाइ छ । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।
राधाकृष्णको युगल जोडीसहितको ९३ औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका १ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराइने छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।
यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा रहने छन् । रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।
कलकत्ताबाट झिकाईएका ६ जना दक्ष कालिगढहरुले रथको श्रृंगार गरिरहेका छन । यसपटक प्लास्टिक र कागजको फुलको साटो प्राकृतिक फुलपातबाटै रथको श्रृंगार गरिंदैछ । श्रृंगारको प्रारम्भिक चरणमैं रथ आर्कषक देखिएको छ । सोमबार रातभरि खटिएर आज दिउँसो १ बजेसम्म रथको श्रृंगार कार्य सक्नेगरि काम गरिरहेको श्रृंगारमा खटिएका कालीगढहरुले बताएका छन ।