Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

श्रीकृष्ण अष्टमी मनाइँदै



ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन सोमबार बिहान दर्शन गर्ने लामबद्ध भक्तजन। तस्बिर : माधवप्रसाद घिमिरे / रासस

काठमाडौं । वैदिक सनातनी धर्मावलम्बीहरुले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन् । भाद्र कृष्णपक्षको अष्टमी तिथीका दिन भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाउने चलन छ ।

आज विराटनगरको राधाकृष्ण मन्दिरलगायतका स्थानमा श्रद्धालुहरुको भीड रहेको छ । यस्तै पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।

यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार