विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटना बीच भगिनी सम्बन्ध स्थापना भएको छ । भारतको बिहार राज्यको राजधानी पटनामा भएको कार्यक्रममा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहेको छ । महासंघ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशी बीच स्थापना हुने भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
दुवै देशका व्यवसायीबीच व्यावसायिक सम्बन्ध सहकार्य बढाउन सम्बन्ध स्थापना गरिएको महासंघका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्न पनि सहज हुने उहाँको भनाइ छ ।
यस्तै भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एस्क्पोका लागि एशोसिएशनसमेत सहभागी हुने भएको छ । एसोसिएसनले कृषिका प्रविधिसहित कृषि उपज वस्तु तथा कृषि विज्ञलाई समेत सहभागी गराउने बिहार इण्डष्ट्रिज एशोसिएशनका अध्यक्ष केशरीले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा महासंघका अध्यक्ष राउत, कोषाध्यक्ष सुवाष आचार्य, केन्द्रिय सदस्य एवं महासंघका सल्लाहकार अविनाश बोहरा लगायतको सहभागिता रहेको थियो ।