विराटनगर : नेकपा एमालेको एउटा पक्षसँग मिलेर इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बजेट पारित गरेसँगै एमाले दुई धारमा विभाजित भएको छ ।
पौडेलले एमालेसँग नौ बुँदे सहमति गरेर एमालेकै बहुमत सदस्यको समर्थनमा ३ अर्ब ५७ करोड ८४ लाख ५० लाखको बजेट पारित गरेका छन् ।
उक्त बजेटप्रति इटहरीकी उपप्रमुख सङ्गीता चौधरी लगायतका केही वडाध्यक्षले विरोध जनाए पनि केन्द्रीय नेताहरूको हस्तक्षेपमा बजेट पास भएको बताइएको छ । उपप्रमुख चौधरी सहित वडा नम्बर ३, ९, १० र १५ नम्बरका वडाध्यक्षले अन्तिम समयसम्म विरोध जनाएर सभामा अनुपस्थित रहे पनि एमालेका बाँकी वडाध्यक्ष तथा बहुमत नगर सभा सदस्यहरूले समर्थन गरेपछि सोमबार बहुमतले बजेट पास भएको हो ।
एमालेबाट निर्वाचित वडा नम्बर १६ का वडा अध्यक्ष तेजुलाल चौधरी र १७ का वडा अध्यक्ष प्रभात आचार्यले केन्द्रीय सदस्य जगदीश कुसियैत र तैयव हुसेनको सहयोग लिएर मेयर मिलेको उपप्रमुख चौधरीको आरोप छ । उनले भनिन्, ‘ वडा नम्बर १६ का वडा अध्यक्ष तेजुलाल चौधरी र १७ का वडा अध्यक्ष प्रभात आचार्यको मिलेमतोमा बजेट पास भएको छ । यसमा दुई जना केन्द्रीय सदस्यले हस्तक्षेप गर्नुभएको छ । यो राम्रो होइन ।’
इटहरीमा अहिले ल्याइएको बजेट विकासमा नकारात्मक प्रभाव पार्ने र आर्थिक अराजकता बढाउने खालको भएको उनले बताइन् । राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तर्जुमा समितिको बैठकको निर्णय पछि कार्यपालिकाबाट अनुमोदन नभई बजेट ल्याइएको उनले बताइन् ।
इटहरीका एक जना एमाले नेताले बजेट पास गर्नका लागि केन्द्रीय सदस्य द्वय जगदीश कुसियैत र तैयव हुसेनले पार्टी नै विभाजित गर्न खोजेको आरोप लगाए । दुई जनाले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि पार्टीलाई बाइपास गर्न खाजेको ती नेताको भनाइ छ ।
यसका लागि तेजुलाल चौधरी र प्रभात आचार्यले कुसियैत र हुसेनलाई मेयर पौडेलसँग छलफल गराउने वातावरण मिलाएका थिए ।
एमाले इटहरीका अध्यक्ष रुपेश बस्नेत भने मेयर पौडेलसँग नौ बुँदे सहमति भएपछि बजेट पास भएको बताउँछन् । तर, बजेट पास गर्ने कुरामा पार्टीका दुई मत देखिएको उनी स्वीकार गर्छन् ।
यता, एमाले केन्द्रीय सदस्य कुसियैत भने आफूले हस्तक्षेप नगरेको र पार्टीका बहुमत जनप्रतिनिधिहरूको आग्रहमा समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको बताउँछन् ।