Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साउन लाग्दै विकासे कार्यक्रमहरु अगाडी बढाउने कोशी सरकारको तयारी



विराटनगर : आर्थिक वर्षको अन्तमा मात्रै कार्यक्रम हुने गरेको आलोचना भएपछि कोशी प्रदेश सरकारले साउनदेखिनै विकासे कार्यक्रमहरुलाई अगाडी बढाउने तयारी गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिममा प्रदेशका प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेर कामलाई अगाडी बढाउन सुरु भएको हो ।

प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ बमोजिक मुख्यमन्त्री कार्कीले साउन १ गतेदेखि नै लागू हुने गरी कार्य सम्झौता गरेका छन् ।

प्रदेश सरकारका सबै मन्त्रीहरुलाई राखेर मुख्यमन्त्री कार्यालयका प्रमुख केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेपछि शर्माले मुख्यमन्त्रीकै उपस्थितिमा मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिए । त्यस्तै सबै सचिवहरुलाई साउन १५ भित्रै कार्य योजना बनाउन र एक करोडभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

कोशी प्रदेशमा हाल ६० वटा कानुन निर्माण भइसकेको, २४ वटा नियमावली तयार भएको छ । आगामी वर्ष खरिद क्षेत्रमा देखिएको समस्या निराकरण गर्न र अत्यावश्यक कानुनहरु साउनभित्रै प्रदेशसभामा लगेर काम थाल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले तयारी गरेको छ । सबै मन्त्रालयलाई चाहिने कानुनहरु ड्राफ्ट गर्नका लागि पनि तयारी गरिएको छ ।

कर्मचारीहरुको समस्या हल गर्नका लागि लोकसेवा आयोगमा अध्यक्ष नियुक्तिदेखि कर्मचारीहरुसँगको छलफललमा कामसमेत अगाडी बढाइएको छ ।

मुख्यमन्त्री कार्कीले यस वर्ष विगतको भन्दा द्रुत गतिमा काम गर्ने र बेलैमा काम सक्ने गरी कार्ययोजना अगाडी बढाइएको बताए । उनले मन्त्रालयका निर्देशनमा जेठ १५ उता गोष्ठी, छलफल, अन्तरक्रियाका कार्यक्रम नगर्नेगरी योजना बनाउन सचिवहरुलाई कडाईका साथ निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार